संविधान संशोधनमा सहभागी हुनु अघि कांग्रेसले उठायो चार बुँदे माग
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले संविधान संशोधनका लागि बनेको कार्यदलमा सदस्य पठाउनुअघि केही विषयमा स्पष्टता माग गरेको छ। पार्टीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै कार्यदलको काम गर्ने तरिका, कार्यक्षेत्र र छलफलका विषयबारे प्रस्ट हुनुपर्ने जनाएको छ।
कांग्रेसले सरकारले संविधान संशोधनको बहस सुरु गरेकोमा स्वागत गरेको छ। साथै संविधान समयअनुसार परिमार्जन गर्दै लैजानु आवश्यक रहेको पनि बताएको छ। तर कार्यदलमा सहभागी हुनुअघि आवश्यक जानकारी स्पष्ट हुनुपर्ने कांग्रेसको भनाइ छ।
‘यद्यपि, यस कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि मनोनयन गर्नु अगाडि कार्यदलको विधि, कार्यक्षेत्र तथा विषयवस्तु लगायतका केही विषयमा स्पष्ट हुन आवश्यक देखिएको छ,’ पत्रमा भनिएको छ, ‘यो स्पष्टताले कार्यदललाई नै आफ्नो कार्यसम्पादन गर्न मद्दत पुग्नेछ र संविधान संशोधनका सन्दर्भमा थप प्रष्टता एवं अपनत्व बढ्नेछ ।’
यसले कार्यदललाई राम्रोसँग काम गर्न मद्दत गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ। यसअघि सरकारले असिम शाहको नेतृत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गरेको थियो।










