चलचित्र ‘पहाड’को ट्रेलर सार्वजनिक
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । चलचित्र ‘पहाड’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा नेपाली समाजका अहिलेका समस्याहरूलाई भावनात्मक ढंगले प्रस्तुत गरिएको छ। ट्रेलरमा गाउँघरबाट मानिसहरू बसाइँसराइ गर्दै सहरतर्फ जाने क्रम, बेरोजगारीका कारण सुनसान बन्दै गएका बस्ती र पानी अभावजस्ता समस्याहरू देख्न सकिन्छ।
यसले पहाडी जीवनको बदलिँदो अवस्था झल्काउँछ। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, सुनील थापा, रेणु योगी, उमा गिरी, अरुण क्षेत्री र नयाँ अनुहार पञ्चमी घिमिरेको अभिनय रहेको छ।
वैशाख १ गतेदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्रले पहाडको सौन्दर्यसँगै त्यहाँका चुनौतीहरूलाई पनि प्रस्तुत गरेको छ। निर्देशक तथा लेखक तुलसी घिमिरेले पहाड बिस्तारै खाली हुँदै गएको यथार्थलाई फिल्ममार्फत देखाउने प्रयास गरिएको बताएका छन्।







