प्रधानमन्त्री शाहद्वारा राजदूतहरूसँग सामूहिक भेट, परराष्ट्र सम्बन्ध मजबुत बनाउनेमा जोड

User Image Prime TV News ५ घण्टा अगाडि
Image of प्रधानमन्त्री शाहद्वारा राजदूतहरूसँग सामूहिक भेट, परराष्ट्र सम्बन्ध मजबुत बनाउनेमा जोड

काठमाडौ । प्रधानमन्त्री बालेन शाहले नेपालमा रहेका विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटघाट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा विभिन्न मित्र राष्ट्रका प्रतिनिधिहरू सहभागी भएका थिए।

उनीहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। राजदूतहरूले नेपाल सरकारसँग मिलेर काम गर्ने र नेपाली जनताको हितमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले नेपालको परराष्ट्र नीति सन्तुलित र व्यवहारिक रहेको बताउँदै छिमेकी र मित्र राष्ट्रहरूसँग विश्वास र सम्मानमा आधारित सम्बन्ध अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।

उनले शान्ति सबैको साझा प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै विदेशमा रहेका नेपाली र श्रमिकहरूको सुरक्षा सरकारको मुख्य प्राथमिकता रहेको बताए। प्रधानमन्त्री शाहले सुशासन, आर्थिक विकास र जनताको जीवनस्तर सुधारमा सरकार दृढ रहेको पनि बताएका छन्। भेटमा परराष्ट्रमन्त्रीसहित अन्य उच्च सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।