उपसभामुखको निर्वाचन चैत २७ गते
Prime TV News ८ घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन यही चैत २७ गते हुने भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय भएको जानकारी दिएका हुन्।
यसअघि चैत २२ गते सभामुखको निर्वाचन भएको थियो। सो निर्वाचनमा डोलप्रसाद अर्याल एकल उम्मेदवार भएकाले निर्विरोध निर्वाचित भएका थिए। प्रतिनिधिसभा नियमावलीअनुसार सभामुख चयन भएपछि उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइन्छ। सोही व्यवस्था अनुसार अब उपसभामुख चयन हुने भएको हो।
संविधान र नियमावलीअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने प्रावधान छ। तर विशेष अवस्थामा एउटै दलबाट पनि दुवै पदमा व्यक्ति चयन हुन सक्ने व्यवस्था रहेको छ। हाल प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित ६ दलको प्रतिनिधित्व छ।
रास्वपाको बहुमत नजिकको संख्या भएकाले उसले समर्थन गर्ने उम्मेदवार उपसभामुखमा निर्वाचित हुने सम्भावना देखिएको छ।







