शेयर बजारमा ठुलो उछाल, नेप्से २,८०२ विन्दुमा पुग्यो
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । आज नेपाली शेयर बजारमा ठुलो बढोत्तरी देखिएको छ। नेप्से परिसूचक ४५.१२ अंकले बढेर २,८०२ विन्दुमा पुगेको छ। आज २५१ कम्पनीका शेयर मूल्य बढेका छन् भने १५ कम्पनीका शेयर मूल्य मात्र घटेका छन्।
दिनभरिमा ३४६ कम्पनीका १ करोड ८८ लाख १६ हजार कित्ता शेयर किनबेच भएको छ र कुल ८ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ, जसको मूल्य ४६ करोड ८१ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार ४२ करोड १६ लाख र शिवम् सिमेन्टको ३७ करोड २० लाख रुपैयाँ भएको छ। आज सबैभन्दा धेरै नाफा रिलायन्स स्पीनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन्। यी कम्पनीका लगानीकर्ताले १० प्रतिशत नाफा पाएका छन्।
उता, सबैभन्दा धेरै घाटा श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले बेहोरेका छन्। यस कम्पनीका लगानीकर्ताले ४.३५ प्रतिशत घाटा भोगेका छन्।







