देशका धेरै क्षेत्रमा वर्षा र असिनाको चेतावनी
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका धेरै स्थानमा वर्षा भइरहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका केही जिल्लामा पानी परेको छ।
मौसमविद्हरुका अनुसार पानी पार्ने प्रणाली पूर्वतिर फैलिँदै छ। अहिले काठमाडौ उपत्यका र आसपासका क्षेत्रमा पनि वर्षा भइरहेको छ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा, कोसी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा र मधेस तथा तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ।
विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागमा केही स्थानमा भारी वर्षा वा हिमपात पनि हुन सक्ने सम्भावना छ। आज राति पनि कोसी, मधेस, बागमती प्रदेशका पहाडी र हिमाली क्षेत्र तथा तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। महाशाखाले नागरिकहरूलाई असिनासहितको वर्षा र चट्याङबाट सतर्क रहन अनुरोध गरेको छ।







