कांग्रेसले अझै संसदीय दलको नेता छान्न सकेन
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभा निर्वाचन भएको एक महिना बित्दा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन। फागुन २१ मा भएको निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सीट जितेको थियो। तर संसदीय दलको नेता नछानिएपछि संसदमा प्रमुख प्रतिपक्षी दलको नेतृत्व पर्खाइमा छ।
दलभित्र नेताको चुनावमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच मतभिन्नता देखिएको छ। सभापतिले प्रत्यक्ष निर्वाचित सांसद मोहन आचार्यलाई नेता बनाउने प्राथमिकता राखेका छन् भने उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङदेम्बेलाई अघि बढाउन चाहेका छन्।
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पनि दलको नेतामा दाबी राखेका छन्। उनले आफू संसदीय दलकै सबैभन्दा सिनियर सांसद भएकाले नेता बन्ने अधिकार रहेको बताएका छन्। कांग्रेसको कार्यसम्पादन समितिले चैत २४ गते नेता चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको भए पनि सभापति र उपसभापति बीचको विवादका कारण निर्वाचन अझै हुन सकेको छैन।
यदि सहमति नबनेको खण्डमा त्रिपक्षीय निर्वाचन हुने सम्भावना छ। यसमा सभापति थापाको उम्मेदवार मोहन आचार्य, उपसभापति शर्माको उम्मेदवार भीष्मराज आङदेम्बे र स्वतन्त्र उम्मेदवार अर्जुननरसिंह केसी रहनेछन्।







