इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । इजरायलमा बढ्दो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै त्यहाँस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। दूतावासले ‘अत्यन्त जरुरी’ सूचना जारी गर्दै सबै नेपालीलाई संयमित र सुरक्षित रूपमा बस्न भनेको हो।
दूतावासले आपतकालीन अवस्थामा सहयोगका लागि आफ्ना अधिकारीहरूलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ। इजरायल सरकार र सम्बन्धित निकायले जारी गर्ने सूचना तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न भनिएको छ। साथै, मोबाइलमा अलर्ट सन्देश आएमा वा साइरन बजेमा ढिला नगरी नजिकैको बम सेल्टरमा जान आग्रह गरिएको छ।
नेपाली नागरिकलाई राहदानी, परिचयपत्र र अन्य आवश्यक कागजात सधैं साथमा राख्न तथा पछिल्लो अवस्थाबारे जानकारी लिइरहन पनि सुझाव दिइएको छ। यसका साथै, सामाजिक सञ्जालमा युद्धसम्बन्धी सामग्री अनावश्यक रूपमा सेयर नगर्न र परिवारसँग नियमित सम्पर्कमा रहन पनि दूतावासले आग्रह गरेको छ।








