बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । बैंकिङ प्रणालीमा पैसा बढी भएपछि नेपाल राष्ट्र बैंकले फेरि २५ अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरेर आज दिउँसो ३ बजे बोलकबोलमार्फत उक्त रकम उठाउने जनाएको छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरका आधारमा हुनेछ र आवश्यक परे बहुब्याजदरमा पनि आवेदन दिन सकिनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले ५६ दिनका लागि यो निक्षेप संकलन गर्नेछ। उठाइएको रकमको साँवा र ब्याज जेठ २० गते फिर्ता गरिने जनाएको छ।
बैंकिङ प्रणालीमा अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले यस्ता उपायहरू अपनाउँदै आएको छ।







