संविधान संशोधनबारे कार्यदलको पहिलो बैठक आज

User Image Prime TV News ५ घण्टा अगाडि
Image of संविधान संशोधनबारे कार्यदलको पहिलो बैठक आज

काठमाडौ । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको पहिलो बैठक आज बस्दैछ। प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बनेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलका साथै जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चालाई पनि आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार विभिन्न दलका प्रतिनिधिहरू बैठकमा सहभागी हुनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहन आचार्य, नेकपा (एमाले) बाट डा. भीष्म अधिकारी र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट देवप्रसाद गुरुङ सहभागी हुनेछन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाबाट मनोज भट्ट सदस्यका रूपमा सहभागी हुनेछन्। यद्यपि, नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले भने आफ्ना प्रतिनिधि टुङ्ग्याइसकेका छैनन्। कांग्रेस प्रवक्ता देवराज चलिसेले संशोधनका विषय नै स्पष्ट नभएकाले आजको बैठकमा कांग्रेस सहभागी नहुन सक्ने बताएका छन्।

कार्यदलमा प्रधानमन्त्री कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल सदस्य छन्। कार्यदलको सदस्य सचिवमा लिलाधर सुवेदी रहेका छन्। यस कार्यदलले संविधान संशोधनका सम्भावित विषयमा छलफल गरी बहसपत्र तयार गर्ने जिम्मेवारी पाएको छ।