राष्ट्रिय सभाका चार समितिमा नयाँ नेतृत्व, सभापति सर्वसम्मत चयन

User Image Prime TV News ८ घण्टा अगाडि
Image of राष्ट्रिय सभाका चार समितिमा नयाँ नेतृत्व, सभापति सर्वसम्मत चयन

काठमाडौ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा नयाँ नेतृत्व चयन भएको छ। मंगलबार सिंहदरबारमा बसेका छुट्टाछुट्टै बैठकमार्फत सबै समितिका सभापति सर्वसम्मत (निर्विरोध) रूपमा चयन गरिएका हुन्।

दलहरूबीच सहमतिमा गरिएको चयनअनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी चयन भएकी छन्। उनको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा) र समर्थकमा युवराज शर्मा तथा रुक्मिणी कोइराला रहेका थिए।

त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको नेतृत्व जयन्तीदेवी राईले सम्हाल्ने भएकी छन्। उनको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा र समर्थकमा दुर्गाकुमारी गुरुङ रहेका थिए। यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल चयन भएका छन् भने उनको प्रस्तावकमा नारायणदत्त भट्ट र समर्थकमा जगत तिमिल्सना रहेका थिए।

यसैगरी विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाया निर्विरोध चयन भएका छन्। उनको प्रस्तावकमा आनन्दप्रसाद ढुंगाना र समर्थकमा गीता देवकोटा रहेका थिए। गत फागुन २० गतेदेखि रिक्त रहेका समितिका सभापति पदमा नयाँ नेतृत्व चयन भएसँगै समितिहरूको कामकारबाही थप सक्रिय हुने अपेक्षा गरिएको छ।