प्रशासनको धरपकडको विरोधमा देशभर मालपोत कार्यालय ठप्प
Prime TV News २ दिन अगाडि 
काठमाडौ । प्रशासनले केही व्यक्तिलाई ‘बिचौलिया’ भन्दै धरपकड थालेपछि, देशभरका मालपोत कार्यालयमा लेखापढी व्यवसायीहरूले काम ठप्प पारेका छन्।
व्यवसायीहरूले अनलाइन प्रणाली (भू-सेवा आईडी) बन्द गर्दा जग्गा पास, नामसारी लगायतका सबै प्रशासनिक काम रोकिएका छन्। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अनुसार, मालपोतको काम सुरुवात गर्न पहिले अनलाइन फाराम भर्नुपर्छ र कागजात तयार गर्नुपर्छ।
व्यवसायीहरूले राज्यबाट अनुमति लिएर कानुनी रूपमा काम गरिरहेका थिए। तर ‘बिचौलिया’ भन्दै धरपकड भएपछि उनीहरूले काम रोक्न बाध्य भएका हुन्। अभियानका कारण विशेषगरी कोसी प्रदेशका मालपोत कार्यालय प्रभावित छन्, जहाँ करिब एक हजार व्यवसायी कार्यरत छन्।
व्यवसायीहरूले आफ्नो पेशा लेखापढी व्यवसायी ऐन २०५१ (संशोधित २०५०) अनुसार सुरक्षित राख्न माग गरेका छन्। काम ठप्प हुँदा दैनिक लाखौँ रुपैयाँ राजस्व गुम्ने र सर्वसाधारणले असुविधा भोग्नुपरेको छ। देशभर करिब ३० हजार लेखापढी व्यवसायी छन्।







