कांग्रेस संसदीय दलको नेता चयनको तयारी, मतदान हुने सम्भावना बढ्दै

User Image Prime TV News ४ घण्टा अगाडि
Image of कांग्रेस संसदीय दलको नेता चयनको तयारी, मतदान हुने सम्भावना बढ्दै

काठमाडौ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनको तयारीमा जुटेको छ। पार्टीभित्र सहमतिमै नेता चयन गर्ने प्रयास भइरहेको भए पनि अन्ततः मतदान हुने सम्भावना बढ्दै गएको छ।

दलको नेताका लागि समानुपातिक सांसद अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदारका रूपमा देखिएका छन्। शीर्ष नेताहरूबीच यी दुईमध्ये एकलाई सहमतिमा अघि बढाउने विषयमा छलफल भइरहेको छ। तर अहिलेसम्म ठोस निष्कर्ष निस्किएको छैन।

यसैबीच, नेता चयनका लागि निर्वाचन समिति गठन गरिएको भन्ने चर्चा बाहिरिएको भए पनि पार्टीले यसलाई औपचारिक रूपमा पुष्टि गरेको छैन। समिति संयोजक भनिएका प्रकाश स्नेही ‘रसाइली’ ले समेत यसबारे जानकारी नभएको बताएका छन्।

कांग्रेसको विगत हेर्दा २०६४ पछि संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन हुन सकेको छैन। गुटबन्दीका कारण यसपटक पनि सहमति जुट्न कठिन देखिएको छ। पार्टीभित्र संस्थापन र संस्थापनइतर समूहबीच प्रतिस्पर्धा कायम छ। केसी संस्थापन पक्षका मानिन्छन् भने आङ्देम्बे इतर समूहसँग नजिक छन्। यही कारण दुवै पक्षबीच शक्ति सन्तुलन मिलाउन चुनौती देखिएको छ।

प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन्। तीमध्ये प्रत्यक्षतर्फ संस्थापन पक्ष बलियो देखिन्छ भने समानुपातिकतर्फ इतर समूहको प्रभाव बढी छ। यद्यपि, पछिल्लो समय सांसदहरूबीच स्पष्ट ध्रुवीकरण भने देखिएको छैन। अन्य केही सांसदहरूले पनि दलको नेतामा दाबी गर्ने संकेत गरेका छन्। यसले प्रतिस्पर्धा अझै रोचक बन्ने देखिन्छ।