इरान–अमेरिका तनाव घटाउन पाकिस्तानको पहल, युद्धविराम प्रस्ताव
Prime TV News २ दिन अगाडि 
काठमाडौ । पाकिस्तानले इरान र अमेरिकाबीच बढ्दो तनाव कम गर्न नयाँ पहल थालेको छ। पाकिस्तानले दुई चरणमा युद्ध रोक्ने प्रस्ताव अघि सारेको हो।
यस योजनाअनुसार पहिलो चरणमा तुरुन्तै युद्धविराम गर्ने र दोस्रो चरणमा दुवै पक्षबीच दीर्घकालीन शान्ति वार्ता गर्ने लक्ष्य राखिएको छ। अन्तिममा इस्लामाबादमा दुवै देशलाई आमनेसामने वार्तामा बसाउने योजना छ।
यो प्रस्ताव सफल भएमा महत्वपूर्ण तेल मार्ग होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउनेछ। यो मार्ग बन्द हुँदा विश्वभर तेल आपूर्तिमा समस्या र मूल्यमा ठूलो उतारचढाव आएको छ।
सम्झौतामा इरानले परमाणु हतियार नबनाउने प्रतिबद्धता जनाउने र त्यसको साटो अमेरिकाले आर्थिक प्रतिबन्ध केही खुकुलो बनाउने विषय समावेश हुन सक्ने बताइएको छ।
तर इरानले अहिलेसम्म अमेरिकासँग सिधा वार्ता नगर्ने अडान राखेको छ। त्यसैले यो प्रस्ताव सफल हुने सम्भावना कमजोर देखिएको छ। यसबीच डोनाल्ड ट्रम्पले युद्ध छिट्टै अन्त्य गर्न चेतावनी दिएका छन्। उनले ढिलाइ भए गम्भीर परिणाम आउन सक्ने बताएका छन्।







