रुपन्देहीमा गोली चलाएर तीन जना लागुऔषधसहित पक्राउ
Prime TV News २ दिन अगाडि 
काठमाडौ । रुपन्देही जिल्लामा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा प्रहरीले गोलीसमेत चलाएको जनाएको छ।
प्रहरीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोली परिचालन गरिएको थियो।
टोलीले कोटहवाबाट छिपागढतर्फ जाँदै गरेको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा तीन जना भाग्ने क्रममा लडेका थिए। त्यसपछि उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले एक राउण्ड हवाई फायर र दुई राउण्ड गोली प्रहार गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा विशाल यादव, भारतका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेय रहेका छन्।
प्रहरीले उनीहरूले प्रयोग गरेको मोटरसाइकल जाँच गर्दा फेनरागन, डाइजेपाम र ब्रुफिन गरी ११००/११०० एम्पुल बरामद गरेको जनाएको छ। गोली लागेर घाइते भएका यादवको उपचार भीम अस्पतालमा भइरहेको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।







