व्यवसायीमाथिको धरपकड बारे अर्थमन्त्री वाग्लेले स्पष्ट पारे सरकारको उद्देश्य
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दीपक भट्ट, सुलभ अग्रवालजस्ता व्यवसायीमाथि गरिएको धरपकडको उद्देश्य सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट नेपाललाई हटाउन रहेको बताएका छन्। उनले भने, "यसबाट अरु व्यवसायीहरू डराउनु हुँदैन, सरकार कुनै व्यवसायीलाई आतंकित पार्ने पक्षमा छैन।"
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको कुराकानीमा डा. वाग्लेले यो धरपकड गृह मन्त्रालयको होइन, अर्थ मन्त्रालयको पहलमा भएको जानकारी दिए। उनले थपे, "यो कदम केवल सरकारको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्नका लागि हो।"
मन्त्री वाग्लेले स्टक मार्केटमा कुनै प्रकारको त्रास सिर्जना हुने अवस्था नरहेको र व्यवसायीहरूलाई हतकडी लगाउने वा जेलमा पठाउने जस्तो तमासा नगर्ने स्पष्ट पारे। उनले भने, "आर्थिक अपराधमा आर्थिक दण्ड लगाउने प्रक्रियामा हामी अग्रसर छौं र हामी निजी क्षेत्रलाई हतोत्साहित गर्ने पक्षमा छैनौं।"
यसले सरकारको उद्देश्य व्यवसायीहरूको गतिविधिलाई कानूनी दायरामा ल्याउन र नेपालको अन्तर्राष्ट्रिय आर्थिक छवि सुधार गर्ने रहेको डा. वाग्लेले स्पष्ट पारे।







