सेयर बजारको स्थायित्वमा सरकारले पूर्ण सहयोग गर्छः अर्थमन्त्री वाग्ले
Prime TV News एक दिन अगाडि 
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा हालको अनावश्यक त्रासको कुनै आधार नरहेको र सरकारले लगानीकर्ताहरूको हितमा काम गर्दैछ भन्ने कुरा स्पष्ट गरेका छन्। आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरूसँगको भेटमा उनले भने, "सेयर बजारलाई आतंकित पार्ने काम भइरहेको छैन। लगानीकर्ताहरूले नआत्तिनुहोस्।"
मन्त्री वाग्लेले सेयर बजारको प्रणालीलाई विश्वसनीय र पारदर्शी भएको बताएका छन्। उनले थपे, "नेपालको सेयर बजार अन्य क्षेत्रभन्दा बढी व्यवस्थित छ। यहाँ पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा जान्छ र कर प्रणाली स्पष्ट छ। यसले सेयर बजारलाई थप विश्वासिलो बनाउँछ।"
अर्थमन्त्रीले सरकारको कुनै उद्देश्य लगानीकर्तामाथि कारबाही गर्नु नभई, अनैतिक कार्य गर्नेहरूलाई कानुनी दायरामा ल्याउनु रहेको बताए। "सेयर बजारको सुधारका लागि सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्रका रूपमा अघि बढाइरहेको छ," उनले भने।
यसै क्रममा, वाग्लेले लगानीकर्ताहरूलाई विश्वास दिलाए कि आगामी दिनहरूमा सेयर बजारमा सुधारका लागि पहल गरिनेछ र नेप्से पुनर्संरचना प्रतिवेदनको अध्ययनपछि सुधार प्रक्रिया अघि बढाइने छ। ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने प्रयासमा सरकारको प्राथमिकता रहेको उनले उल्लेख गर्दै भने, "हामी कागजमा मात्र कुरा गरिरहेका छैनौँ, अहिले हामी कार्यान्वयन चरणमा छौँ।"







