भारतीय राजदूत श्रीवास्तव र परराष्ट्रमन्त्री खनाल बीच शिष्टाचार भेटवार्ता
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार परराष्ट्रमन्त्री शिशिर खनालसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा राजदूत श्रीवास्तवले भारतीय विदेशमन्त्री एस. जयशंकरको तर्फबाट मन्त्री खनाललाई बधाई र शुभकामना सन्देश हस्तान्तरण गरे।
नयाँ सरकार गठनपछि नेपाल र भारतबीचको उच्चस्तरीय भेटघाटको यो पहिलो अवसर हो। भेटका क्रममा नेपाल र भारतका अधिकारीहरू बीच कनेक्टिभिटी, ऊर्जा व्यापार र थाती रहेका विकास आयोजना लगायतका विविध द्विपक्षीय विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राजदूत श्रीवास्तवले नेपालको विकास प्रयासमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता दोहोर्याउँदै, नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ बनाउन भारतले थप सहयोग गर्ने आश्वासन दिएका छन् । भेटपछि परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, "भारतीय राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री खनाललाई कार्यभार सम्हालेकोमा शुभकामना दिँदै नेपाल-भारत सम्बन्ध र आपसी सहयोगका विभिन्न पक्षहरूमा छलफल गरेका छन्।"







