भूमि कार्यालयहरूमा बिचौलिया प्रवेश निषेध, मन्त्रालयको नयाँ निर्देशन

User Image Prime TV News २ दिन अगाडि
Image of भूमि कार्यालयहरूमा बिचौलिया प्रवेश निषेध, मन्त्रालयको नयाँ निर्देशन

काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अब देशभरका नापी र मालपोत कार्यालयमा अनधिकृत व्यक्तिहरूको प्रवेश निषेध गर्ने निर्णय गरेको छ। मन्त्री प्रतिभा रावलको निर्देशनमा सचिवस्तरीय निर्णय जारी गर्दै कार्यालयमा प्रवेश गर्नका लागि केवल परिचय खुल्ने कागजात भएका व्यक्तिहरूलाई मात्र अनुमति दिइने व्यवस्था गरिएको हो।

मन्त्रालयले जनाएका अनुसार, विभिन्न बहानामा कार्यालयमा प्रवेश गर्ने बिचौलिया र अनधिकृत व्यक्तिहरूले महत्त्वपूर्ण कागजात र स्रेस्तामा पहुँच राख्ने समस्या आइरहेको थियो। यसका कारण गोप्य र संवेदनशील कागजातहरूको सुरक्षा र कार्यालयको कार्य संचालनमा गम्भीर प्रश्न उठेका थिए।

नयाँ निर्देशन अनुसार, कार्यालयका प्रमुखहरूलाई बिचौलिया वा अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक नलगाएमा उनीहरू जिम्मेवार ठहरिनेछन्। यसले कार्यालयमा हुने भिडभाड र कागजातको सुरक्षामा सुधार ल्याउने लक्ष्य राखेको मन्त्रालयको भनाइ छ।

यो कदम सेवाग्राहीका लागि पनि सकारात्मक हुनेछ। अब बिचौलियाको हस्तक्षेप बिना सेवाग्राहीहरूले आफ्नो निवेदन र कागजात प्रस्तुत गरेर सजिलै सेवा प्राप्त गर्न सक्नेछन्।