हुलाक मार्फत सार्वजनिक बिदामा पनि विदेश सामान पठाउन र प्राप्त गर्न सकिने

User Image Prime TV News २ दिन अगाडि
Image of हुलाक मार्फत सार्वजनिक बिदामा पनि विदेश सामान पठाउन र प्राप्त गर्न सकिने

काठमाडौ । हुलाक सेवा विभागले अब सार्वजनिक बिदाका दिनसमेत विदेशमा सामान पठाउन र विदेशबाट सामान प्राप्त गर्नको लागि नयाँ व्यवस्था लागू गरेको छ। यसले विदेशमा पठाइने र नेपालमा आउने सामानहरूको जाँचपास प्रक्रिया द्रुत र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार, ‘एक्सप्रेस वे’ प्रणाली लागू गरेर हुलाक कुरियरको सेवा छिटो र सुरक्षित बनाइनेछ। यसमा विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरणसँगको समन्वय पनि महत्वपूर्ण हुनेछ।

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष जाँचपास प्रणाली बनाइनेछ, जसले हुलाक कुरियर सेवाको प्रक्रिया छिटो र सुरक्षित बनाउन मद्दत पुर्याउनेछ। सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेश पठाइने सामान र विदेशबाट आयात हुने सामान छुटाउन सकिने व्यवस्था मिलाइएको छ।

यसअघि, गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले सार्वजनिक बिदामा सेवा दिँदै आएको भए पनि भन्सार कार्यालय र बैंक नखुल्दा समस्या हुने गरेको थियो। पछिल्लो समय हुलाक सेवामार्फत कुरियर गर्ने क्रम बढ्दो छ।