नेपाली कम्युनिष्ट पार्टीको बैठक सुरु, आगामी योजना र पुनर्गठनमा छलफल हुँदै
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज पेरिसडाँडा स्थित पार्टी मुख्यालयमा सुरु भएको छ। बैठकमा पार्टीको आगामी योजना र निर्वाचन परिणामको समीक्षा गरिनेछ।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावी हारको कारणहरूको विश्लेषण गर्दै प्रतिवेदन पेस गरेका छन्। उनले अब पार्टीको पुनर्गठन गरी महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेका छन् । बैठकमा प्रचण्डले पार्टीका साङ्गठनिक, वैचारिक, आर्थिक र प्राविधिक पक्षमा सुधार गर्नका लागि ठोस कार्ययोजना तयार गर्नुपर्ने जोड दिएका छन्।
साथै, आगामी तीन महिनाभित्र सबै वडामा पार्टीको सङ्गठन निर्माण गर्ने, पाँच महिनाभित्र वडा, पालिका, जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गर्ने र ६ महिनाभित्र पार्टीको एकता महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरिएको छ।
चुनावी हारपछि पार्टीको नेतृत्वप्रति दबाब बढिरहेको छ। प्रचण्ड, सहसंयोजक माधव नेपाल र अन्य शीर्ष नेताहरूसँग नेतृत्व परिवर्तनको माग गरिए पनि, उनीहरूले पार्टीको शुद्धीकरणपछि मात्रै महाधिवेशनमा जानुपर्ने बताइरहेका छन्। अबको केही महिनामा पार्टीको संगठन र एकतामा सुधार ल्याउने उद्देश्यले बैठकमा महत्वपूर्ण निर्णयहरू लिइनेछ।







