गृहमन्त्री सुधन गुरुङले अख्तियार प्रमुखलाई भ्रष्टाचार मुद्दामा तीव्रता दिन गरे आग्रह
Prime TV News २ दिन अगाडि 
काठमाडौ । गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसँग भेटेर भ्रष्टाचारका मुद्दामा तीव्रता दिन आग्रह गरेका छन्। गृहमन्त्री गुरुङ तीन दिनअघि एक टोलीसहित राईलाई भेट्न पुगेका थिए र उनले सरकारको तर्फबाट आयोगलाई पूर्ण सहयोग दिने प्रतिबद्धता जनाएका थिए।
गृहमन्त्रीले राईसँगको संवादमा भने, "सरकारको स्पिरिटलाई समाएर काम गर्नुहोस्। तपाईलाई आवश्यक सूचना र जनशक्ति चाहिए हामी तयार छौं। कुनै पनि व्यक्तिलाई नछाड्नुहोस्, फाइल खोल्नुहोस् र भ्रष्टाचारविरुद्धको कार्यमा तीव्रता दिनुहोस्। हामी तपाईसँगै छौं।"
अख्तियार प्रमुख राईले गृहमन्त्रीलाई जानकारी गराउँदै भने कि आफूले निष्पक्ष अनुसन्धान गरिरहेको र पूर्वप्रधानमन्त्री, पूर्व मुख्यसचिवहरूजस्ता ठूला व्यक्तिहरूसम्म मुछिएका भ्रष्टाचारका काण्डहरूको अभियोजन गरिएको छ। राईले गृहमन्त्रीलाई विश्वास दिलाउँदै भने कि उनले आफ्नो कार्यक्षेत्रमा निष्पक्ष र पारदर्शी रूपमा काम गर्न कोसिस गरेका छन्।
गृहमन्त्री गुरुङको समर्थनपछि अख्तियारले केही समयअघि दल र नेताका दबाबका कारण रोकिएका ठूला भ्रष्टाचारका काण्डहरूको अनुसन्धानलाई तीव्रता दिएको छ। स्रोतका अनुसार, "ठूला माछा" मुछिएका काण्डहरूको अनुसन्धान अब तीव्र गति लिईरहेको छ र सरकारको साथसँगै भ्रष्टाचार विरुद्धको कदमलाई मजबुत बनाउन आवश्यक पहल गरिनेछ।







