कम्बोडियाबाट ७ जना नेपाली नागरिकको उद्धार

User Image Prime TV News एक घण्टा अगाडि
Image of कम्बोडियाबाट ७ जना नेपाली नागरिकको उद्धार

काठमाडौ । कम्बोडियामा अवैध रूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका ७ जना नेपाली नागरिकलाई नेपाल फर्काइएको छ। थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरिएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा ती नेपाली नागरिकलाई २३ चैतमा नेपाल फर्काइएको जानकारी प्राप्त भएको छ। उनीहरू विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका थिए र त्यहाँ अवैध अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोहरूमा काम गर्न बाध्य थिए। कतिपय नेपाली नागरिक भिसाविना पनि लुकेर बसिरहेको जानकारी पनि प्राप्त भएको छ।

नेपाली राजदूतावासले यस प्रकारको अलपत्र परेका अन्य नेपाली नागरिकहरूको उद्धारका लागि पहल जारी राखेको जनाएको छ। दूतावासले कम्बोडियामा अझै धेरै नेपाली नागरिक अनलाइन ठगी र अन्य गैरकानुनी काममा संलग्न रहेको र भिसा अवधि सकिएर बसिरहेको खबर प्राप्त भएको जानकारी दिएको छ।

कम्बोडियामा अलपत्र परेका नेपाली नागरिकलाई सहजीकरणका लागि दूतावासले तत्काल सम्पर्क गर्न आग्रह गरेको छ। उनीहरूले बैंककस्थित नेपाली राजदूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरूसँग पनि सम्पर्क गर्न सक्नेछन्।

यसका साथै, स्क्यामिङ केन्द्रमा काम गर्ने नेपालीका राहदानी रोजगारदाता कम्पनीले जफत गर्ने र स्थान परिवर्तन गर्दा राहदानी हराउने जस्ता गुनासो बढेका छन्। यस्तो अवस्थामा नेपाल फर्कन चाहने व्यक्तिहरूलाई दूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गर्ने व्यवस्था मिलाएको छ।

पछिल्लो समय कम्बोडियामा नेपाली नागरिकको संख्या अस्वाभाविक रूपमा बढेको छ। २०२१ मा १०१ जना नेपाली कम्बोडिया गएका थिए भने, २०२४ मा यो संख्या ६४०४ पुगिसकेको छ। यसबाट चिन्ता व्यक्त गर्दै दूतावासले चेतावनी जारी गरेको छ र नेपाल सरकारको मापदण्ड अनुसार श्रम स्वीकृति प्राप्त नगरी वैदेशिक रोजगारीमा जान नजान अनुरोध गरेको छ।