आगामी १५औं महाधिवेशनमा नयाँ पुस्तालाई नेतृत्व सुम्पनुपर्ने आवश्यकता छः नेता बडू
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको आगामी १५औं महाधिवेशनमा नयाँ पुस्तालाई नेतृत्व सुम्पनुपर्ने आवश्यकता व्यक्त गरेका छन्। उनले यसका लागि पार्टी एकता र रूपान्तरणका पक्षमा काम गर्न सबै नेताहरू र कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
बडूले समाजिक संजालमा लेख्दै पार्टीलाई थप बलियो, जिम्मेवार र एकताबद्ध बनाउन अहिलेको समयमा पहल गर्नुपर्ने बताउँदै १४औं महाधिवेशनको चार वर्षे कार्यकाल सकिएपछि १५औं महाधिवेशन हुने कुरा पुष्टि गरे। उनले विशेष महाधिवेशनको वैधता सर्वोच्च अदालतमा चुनौती दिइएको भन्दै यस विषयमा अदालतको निर्णयलाई सम्मान गर्न सबैलाई आग्रह गरे।
गत प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूको विजयीमा आफ्नो सक्रियता रहेको भन्दै, उनले पार्टीको सङ्गठन भित्रका केही कमजोरी र मतदाताको बदलिँदो चाहनाले निर्वाचन परिणाममा प्रतिकूल असर पुर्याएको स्वीकार गरे। बडूले यस अवस्थालाई स्वीकार गर्दै सभापति शेरबहादुर देउवाले नैतिक जिम्मेवारी लिएको उल्लेख गरेका छन्।
उनले पार्टी एकता र लोकतान्त्रिक मूल्यको रक्षा गर्दै कांग्रेसलाई सुदृढ र एकताबद्ध बनाउन सबैलाई एकजुट भएर काम गर्न आह्वान गरेका छन्। बडूका अनुसार, पार्टीको भविष्य नयाँ पुस्तामा सुम्पनुपर्ने र त्यसका लागि सबैले मिलेर काम गर्नुपर्ने समय आएको छ।







