शुक्रबार पनि शेयर कारोबार सञ्चालन हुने
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ। यस निर्णयले लगानीकर्ताहरूलाई थप सुविधा र बजारको सक्रियता बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।
नेपाल सरकारको पछिल्लो निर्णयअनुसार पेट्रोलियम पदार्थको खपत घटाउनका लागि आइतबार सार्वजनिक बिदा दिइएको थियो। यस निर्णयसँगै, नेप्सेले आफ्नो कारोबार तालिका पुनः परिमार्जन गर्ने निर्णय गरेको हो। अब आइतबार बजार बन्द रहनेछ भने, शुक्रबार नियमित रूपमा शेयर कारोबार सञ्चालन हुनेछ।
नेप्से सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो, जसले सातामा पाँच दिन शेयर कारोबार सुनिश्चित गर्ने उद्देश्य राखेको छ। यसले लगानीकर्ताहरूको सुविधालाई मध्यनजर गर्दै बजारमा निरन्तरता र स्थिरता ल्याउने अपेक्षा गरिएको छ।
यसअघि पनि २०७९ सालमा सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा लागू गर्दा नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो। पछि आइतबारको बिदा हटाएपछि नेप्सेले पुरानो तालिकामा फर्केको थियो। अबको नयाँ व्यवस्थाअनुसार शनिबार र आइतबार बजार बन्द रहनेछ।
यस निर्णयसँगै, नेप्सेले आफ्नो बजारलाई अझ सक्रिय र प्रतिस्पर्धी बनाउन थप कदम चाल्न थालेको छ।







