सरकारले पुराना डिजेल–पेट्रोल गाडी विद्युतीयमा रूपान्तरण गर्न नीति तय
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । सरकारले पुराना डिजेल र पेट्रोल गाडीहरूलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न सक्ने नीति तय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि कानुनी र प्राविधिक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, यो निर्णय वातावरण संरक्षण र इन्धन खपत घटाउने उद्देश्यले गरिएको हो। हाल पुराना गाडीलाई विद्युतीयमा रूपान्तरण गर्दा दर्ता, नवीकरण र प्राविधिक मापदण्डमा स्पष्ट कानुनी व्यवस्था नहुँदा सवारीधनीले समस्या भोग्दै आएका थिए।
प्रवक्ता पोखरेलले भने, “यो निर्णयले इन्धनमा निर्भरता घटाउनेछ र नेपालको नवीकरणीय ऊर्जा (विद्युत्) को प्रयोग बढाउन सहयोग पुग्नेछ।” सरकारको यो नीति लागू भएपछि पुराना गाडीहरूलाई कवाडीमा फाल्नुको साटो कम खर्चमा वातावरणमैत्री बनाउन सकिने भएको छ।







