एमालेमा विशेष महाधिवेशनको माग, ४०० भन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरिएको दावी

User Image Prime TV News २ दिन अगाडि
Image of एमालेमा विशेष महाधिवेशनको माग, ४०० भन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरिएको दावी

काठमाडौ । प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नेकपा एमालेभित्र विशेष महाधिवेशनको माग उठेको छ। राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदका सदस्यहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्।

एमालेको विधान अनुसार, दुई–तिहाइ जिल्ला कमिटी वा बहुमत प्रतिनिधिहरूले लिखित माग गर्दा पार्टीले विशेष महाधिवेशन गर्नुपर्छ। अहिले प्रारम्भिक रूपमा ४०० भन्दा बढी प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेको जनाइएको छ।

अनेरास्ववियुका उपमहासचिव कमल जोशीले भने, “युवा नेतृत्व अपरिहार्य भइसकेको छ। पार्टीले आफ्ना युवाहरूको आवाज सुन्न छाड्दा उनीहरूले आफै परिवर्तनको नयाँ अध्याय लेख्न बाध्य हुन्छन्।”

हस्ताक्षर पत्रमा निर्वाचन परिणाम कमजोर भएको र पार्टी नेतृत्वप्रति जनताको अविश्वास देखिएको उल्लेख छ। प्रत्यक्ष निर्वाचनमा १६५ सिटमध्ये केवल ९ सिट मात्र जितिएको र समानुपातिकमा १३.४ प्रतिशत मत आएको जनाइएको छ।

पत्रमा यो पनि भनिएको छ कि काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रमा एमाले उम्मेदवार पराजित भएका छन्। विगत महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली विजयी भएका थिए। तर चार महिनाभित्रै पार्टीभित्र विशेष महाधिवेशनको माग उठेको छ। अध्यक्ष ओली अहिले प्रहरी हिरासतमा छन् र स्वास्थ्य समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।

विशेष महाधिवेशनले पार्टीको आगामी नेतृत्व र नीति निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।