कांग्रेस भित्रको आधिकारिकता विवादसम्बन्धी मुद्दाको पेशी आज
Prime TV News ७ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेस भित्रको आधिकारिकता विवादसम्बन्धी मुद्दा आज सर्वोच्च अदालतमा पेशीका लागि तोकिएको छ। उक्त मुद्दा आजको सूचीमा १२औँ नम्बरमा रहेको छ। यसअघि चैत १ गते पनि पेसी चढेको भए पनि पालो नआएका कारण सुनुवाइ हुन सकेको थिएन। त्यस दिन रिट निवेदक पूर्ण बहादुर खड्का स्वयं बहसका लागि अदालत पुगेका थिए।
आजको सुनुवाइमा दुवै पक्षका कांग्रेस नेताहरू अदालतमा उपस्थित हुने भएका छन्। विशेषगरी उपसभापति विश्व प्रकाश शर्मा बहसका लागि सर्वोच्च अदालत जाने कार्यक्रम रहेको छ । कांग्रेसभित्रको यो विवाद विशेष महाधिवेशनसँग जोडिएको छ, जसबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। उक्त नेतृत्वलाई निर्वाचन आयोग ले आधिकारिक मान्यता दिएको थियो।
तर उक्त निर्णयप्रति असहमति जनाउँदै खड्काले गगन थापा, विश्व प्रकाश शर्मा तथा निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। आजको सुनुवाइले कांग्रेसभित्रको नेतृत्व विवादमा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ। अदालतले प्रारम्भिक बहसपछि अन्तरिम आदेश जारी गर्ने वा थप सुनुवाइका लागि अर्को मिति तोक्ने सम्भावना रहेको छ।







