आईपीएलमा पञ्जाव किंग्सले लगातार दोस्रो जित

User Image Prime TV News १० घण्टा अगाडि
Image of आईपीएलमा पञ्जाव किंग्सले लगातार दोस्रो जित

काठमाडौ । पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार दोस्रो जित निकालेको छ । यो जितसँगै पञ्जावले प्रतियोगितामा चार अंक जोडेको छ ।

यसअघि पञ्जावले पहिलो खेलमा गुजरात टाइटान्सविरुद्ध तीन विकेटको जित निकालेको थियो । पञ्जावले शुक्रबार प्रतियोगितामा दोस्रो जित निकाल्ने क्रममा चेन्नाई सुपर किंग्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

एमए चिदमबरम क्रिकेट रंगशालामा चेन्नाईले प्रस्तुत गरेको २१० रनको लक्ष्य पञ्जावले १८.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । पञ्जावको जितमा कप्तान श्रेयस ऐयरले ५० रनको अर्धशतकीय इनिङ खेले । ऐयरले २९ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।

उनले चौथो विकेटको निम्ति कुपर कोनोलीसँग ६३ रनको अर्धशतकीय साझेदारी गरेका थिए । ओपनर प्रवसिम्रन सिंहले ४३ रन जोडे । प्रियांस अर्याले ३९, कुपर कोनोलीले ३६, सशांक सिंहले १४ र नेहाल माधेराले १० रन बनाएका थिए ।

चेन्नाईका म्याट हेनरी र अन्सुर कम्बुजले समान दुई विकेट लिए । त्यसअघि, पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको चेन्नाईले पञ्जावविरुद्ध निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०९ रनको योगफल खडा गरेको थियो ।

उनले दोस्रो विकेटको निम्ति आयुष मेहत्रासँग ९६ रनको अर्धशतकीय साझेदारी गरेका थिए । चेन्नाईका निम्ति आयुष मेहत्राले ७३ रनको अर्धशतकीय इनिङ खेले । ४३ बल खेलेका मेहत्राले ६ चौका र पाँच छक्का प्रहार गरे । शिभम दुवेले ४५, सरफराज खानले ३२ र कप्तान रितुराज गायक्वादले २८ रन बनाएका थिए ।

पञ्जावका विजयकुमार भ्साकले दुई विकेट लिए । जाबियर बार्टलेट, मार्काे जान्सेन र युज्वेन्द्र चहलले समान एक विकेट लिए । चेन्नाईको भने यो लगातार दोस्रो हार हो । चेन्नाईले यसअघि पहिलो खेलमा राजस्थान रोयल्ससँग आठ विकेटको हार व्यहोरेको थियो ।