एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छाडिदिन वामदेव गौतमको आग्रह

User Image Prime TV News ५ घण्टा अगाडि
Image of एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छाडिदिन  वामदेव गौतमको आग्रह

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टी नेता वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छाडिदिन आग्रह गरेका छन्।

प्रधानमन्त्री बालेन शाहलाई खुला पत्रको नाममा वक्तव्य सार्वजनिक गर्दै गौतमले ७४ वर्षको वृद्धलाई अपमानित हुने गरी हिरासतमा राखेर गल्ती गरेको बताउँदै सच्याउन आग्रह गरेका हुन्।

'रातारात घर घेरेर, एकाविहानै पकाउ गर्ने शैली गलत थियो। म अनुरोध गर्दछु, ती गल्ती सच्याउनुहोला । एउटा वृद्ध, शारीरिक रुपमा पनि अस्वस्थ्य राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित छैन,' उनले भनेका छन्।

संविधान बमोजिम मृत्युदण्डको सजाय नभएको तर त्यस्तो सजाय हुने देशहरुमा पनि मृत्युदण्ड दिने व्यक्तिलाई अन्तिम इच्छा सोधिने गौतमले बताएका छ्न।

'केपी शर्मा ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने थियो,' उनले भनेका छन्।

गौतमले कानुन र विगतका अभ्यासले कुनै पनि घटनामा छानबिन प्रतिवेदन सरकार समक्ष पेस भएपछि सम्बन्धित निकायले अध्ययन र अनुसन्धान गरेपछि, त्यस्तो अनुसन्धानको निष्कर्ष अनुसार मात्र कारवाही प्रक्रिया अगाडि बढ्ने स्मरण गराए।

'म प्रश्न गर्न चाहन्छु कि, ७४ वर्षको बृद्ध अवस्थामा पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीलाई किन अपमानित हुने गरी हिरासतमा राख्नुहुन्छ? उहाँलाई थुन्नका निम्ति जे-जे तथ्य जम्मा गरिएको छ, ती सबै अदालतबाट प्रमाणित भएपछि थुनेर कारबाही गर्नु भए हुन्न र?,' गौतमले भनेका छन्।

उनले भदौ २३ को घटनामा १९ जनाको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा गर्न अनुरोध गर्ने मध्यमा आफू पनि एक रहेको बताएका छन्।

त्यसपछि विकसित घटनाक्रम र निर्वाचनसम्म आइपुग्दा शान्तिपूर्ण तवरमा भएका राज्यका क्रियाकलापहरूमा प्रकारान्तरले ओलीको पनि योगदान रेहेको उनले बताएका छन्।

नेता गौतमले प्रधानमन्त्री बालेनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना पनि दिएका छन्।