यूएईमा क्षेप्यास्त्र अवशेष खस्दा घाइते नेपालीमध्ये ६ घर फर्किए
Prime TV News ५ घण्टा अगाडि .jpg)
काठमाडौ । यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते भएका नेपालीहरूको अवस्थाबारे पछिल्लो जानकारी सार्वजनिक गरेको छ । दूतावासले शनिबार विज्ञप्ति जारी गर्दै घाइते नेपालीको अवस्थाबारे जानकारी दिएको हो ।
शुक्रबार अबु धाबीको अबजान क्षेत्रमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा सात जना नेपाली नागरिक घाइते भएका थिए । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको थियो ।
राजदूतावासले दिएको पछिल्लो जानकारी अनुसार तीमध्ये छ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । गम्भीर घाइते भनिएका एक जनाको भने अहिले अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालमा उपचाररत उनको अवस्था अहिले खतरामुक्त रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार अस्पतालमा उपचाररत घाइतेले टेलिफोनमार्फत आफू छिट्टै डिस्चार्ज हुने सम्भावना रहेको जानकारी दिएका छन् ।
दूतावासले घाइतेलाई सहयोग र समन्वयका लागि निरन्तर काम गरिरहेको स्पष्ट पारेको छ । पश्चिम एशियामा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले सबै नेपाली नागरिकलाई यूएई सरकारले जारी गरेको सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ ।
साथै आधिकारिक स्रोतबाट आएका सूचनालाई मात्र विश्वास गर्न र सचेत रहन दूतावासले आग्रह गरेको छ ।














