उपसभामुख चयनमा रास्वपाको मौनता, विभिन्न दलको दाबी तीव्र

User Image Prime TV News एक दिन अगाडि
Image of उपसभामुख चयनमा रास्वपाको मौनता, विभिन्न दलको दाबी तीव्र

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको सभामुखमा आफ्ना उपाध्यक्ष डीपी अर्याललाई निर्विरोध निर्वाचित गराइसके पनि उपसभामुख चयनबारे अझै स्पष्ट निर्णय गर्न सकेको छैन । संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुन नपाउने व्यवस्था रहेकाले उपसभामुख कसलाई दिने भन्ने विषय राजनीतिक वृत्तमा चासोको केन्द्र बनेको छ।

रास्वपाका सभापति रवि लामिछानेले उपसभामुखबारे छलफल नै सुरु नभएको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग उनले भने, “पहिले सभामुखको प्रक्रिया टुंग्याउँछौं, त्यसपछि उपसभामुखबारे छलफलमा जान्छौं।”

उपसभामुख पदका लागि भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित नेकपाले सार्वजनिक रूपमा दाबी अघि सारेका छन्। कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रमुख प्रतिपक्षको हैसियतले आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन्।

त्यस्तै, नेकपाका सांसद रमेश मल्लले पनि आफ्नो पार्टीले उपसभामुखमा दाबी गर्ने स्पष्ट पारेका छन्। यता राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी मध्ये कुनै एकलाई उपसभामुख दिन सकिने चर्चा चले पनि औपचारिक प्रस्ताव भने अघि बढेको छैन। राप्रपाकी सांसद खुस्बु वलीको नाम चर्चामा आए पनि पार्टीभित्र त्यसबारे निर्णय नभएको जनाइएको छ।

रास्वपाले उपसभामुख चयन गर्दा संवैधानिक परिषद्मा शक्ति सन्तुलन मिलाउने रणनीति अपनाउने संकेत देखिएको छ। उक्त परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ।