सर्वोच्चको अन्तरिम आदेश: शैक्षिक सत्र सुरु नहुँदासम्म विद्यार्थी भर्ना सूचना निषेध
Prime TV News एक दिन अगाडि 
काठमाडौ । सर्वोच्च अदालतले विद्यालयहरूले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्नाका लागि सूचना र कार्यक्रम प्रकाशित गर्न नपाउने अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु भएपछि मात्रै भर्नाका लागि सूचना प्रकाशन गर्न सकिने आदेश दिएको हो।
कानुनका विद्यार्थी आयुष बडालले वार्षिक परीक्षा नसम्पन्न भएका बेला विद्यालयहरूले भर्ना कार्यक्रम राखेको र सूचना प्रकाशित गरेको भन्दै रिट दायर गरेका थिए। उनका तर्फबाट वरिष्ठ अधिवक्ता अमर थापा, र अधिवक्ताहरू राजाराम घिमिरे र सदीक्षा भुषालले बहस गरेका थिए।
अदालतले आदेशमा भन्यो, “प्रमाणपत्र प्राप्त भएपछि तथा शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्नाको सूचना र कार्यक्रम प्रकाशन गर्न मिल्नेछ र सो अनुरूप सबै विद्यालयमा एकरूपता कायम हुनुपर्छ।” शिक्षा नियमावली २०५९ अनुसार विद्यार्थीले विद्यालयमा भर्ना हुन वार्षिक परीक्षाको लब्धाङ्क र स्थानान्तरण प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था छ।
नियमावलीले शैक्षिक सत्र वैशाख १ देखि चैत मसान्तसम्म कायम रहने र सत्र सुरु नहुँदासम्म भर्ना गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ। सर्वोच्चले यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लिखित जबाफ १५ दिनभित्र पेश गर्न आदेश दिएको छ।













