एमाले नेता ईश्वर पोखरेलको आह्वान: 'सिद्धान्त कायम राख्दै पार्टी सशक्त बनाऔँ'

User Image Prime TV News एक दिन अगाडि
Image of एमाले नेता ईश्वर पोखरेलको आह्वान: 'सिद्धान्त कायम राख्दै पार्टी सशक्त बनाऔँ'

काठमाडौ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुती स्मरण गर्दै वर्तमान चुनौतीको सामना गर्न सबै नेता, कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

पार्टीभित्र बढ्दो विवाद र चुनौतीको विषयमा पोखरेलले भने, “एमाले स्थापना कालदेखि नै प्रतिकूल परिस्थितिसँग जुध्दै सुसंगत विचार, व्यवस्थित विधि–पद्धति, सामूहिक नेतृत्व प्रणाली र नियन्त्रण–सन्तुलनको अभ्यासमा सुदृढ हुँदै आएको हो।” उनले पार्टीले जनतामाझ आफ्नो स्पष्ट पहिचान र हैसियत कायम गर्न आवश्यक रहेको पनि औँल्याए।

०८२ मंसिरमा सम्पन्न ११औं राष्ट्रिय महाधिवेशनले पार्टीका मूलभूत मूल्य र मान्यतालाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको स्मरण गराउँदै उनले भने, “यिनै मूल्य र मान्यताको निरन्तरताबाट मात्र हामी अगाडि बढ्न सक्छौं र अहिले भइरहेको चौतर्फी षड्यन्त्रपूर्ण हमलाको सामना गर्दै पुनः सशक्त रूपमा उभिन सक्छौं।”

पोखरेलले सिद्धान्तहीन सत्ता स्वार्थ, अवसरवाद र आत्मकेन्द्रित अभिव्यक्तिलाई अत्यन्त हानिकारक ठहर गर्दै पार्टीलाई जनताको प्रिय बनाउन र नयाँ स्तरमा गतिशील बनाउने उद्देश्यले एकताको आवश्यकतालाई जोड दिए।

उनले सबै पंक्तिलाई सचेत र एकताबद्ध रहन सुझाव दिँदै भने, “नयाँ स्तरमा गतिशील बनाउन एकताबद्ध भएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो। गति अनुसार मति बनाऔँ र आफ्ना बिग्रिएका मति अनुकूल गतिलाई बुझ्ने काममा लागौँ। यसरी मात्र चुनौतीको घेरामा परेको एमालेलाई बचाउन सकिन्छ।”