बादलको अभिव्यक्तिमाथि सुरेन्द्र पाण्डेको कडा टिप्पणी, 'सबै दोष अरूलाई! हामी पनि दोषी छौँ'

User Image Prime TV News एक दिन अगाडि
Image of बादलको अभिव्यक्तिमाथि सुरेन्द्र पाण्डेको कडा टिप्पणी, 'सबै दोष अरूलाई! हामी पनि दोषी छौँ'

काठमाडौ । नेकपा एमाले संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष राम बहादुर थापाले संसदमा दिएको अभिव्यक्तिपछि नेता सुरेन्द्र पाण्डेले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्।

पाण्डेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै 'षड्यन्त्र'का कुरा गरेर सबै दोष अरूमाथि थोपर्न खोजिएको बताएका छन्। उनले यस्तो वातावरण बन्नुमा आफ्नै सरकारको कमजोरी जिम्मेवार भएको संकेत गरेका छन्।

सामाजिक सञ्जालमा उनले भनेका छन्– 'हिजो संसदमा “षड्यन्त्र”का लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो-सबै दोष अरूलाई! हामी पनि दोषी छौँ । यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ? अब यो ‘घेराबन्दी’मा पर्‍यौँ भन्ने “राष्ट्रवादी” राजनीति निकै पुरानो भयो। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन्।'

उनले पुरानो शैलीको 'घेराबन्दी' र राष्ट्रवादको राजनीति अब काम नलाग्ने भन्दै देशलाई अगाडि बढाउन आर्थिक सुधार नै मुख्य बाटो भएको बताएका छन्। साथै, आफ्ना कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राख्ने प्रयास नगर्न पनि चेतावनी दिएका छन्।

थापाले भने संसदमा चुनाव हार्नुमा सेना, कर्मचारी र बाह्य शक्तिको भूमिका रहेको संकेत गरेका थिए। यही अभिव्यक्तिका कारण पार्टीभित्रै विरोध बढेको हो।

विवाद बढ्दै गएपछि यस विषयमा छलफल गर्न आज एमालेको सचिवालय बैठक बस्दैछ ।