पश्चिम एसियाबाट नेपाली उद्धारका लागि विशेष उडान सञ्चालन

User Image Prime TV News एक दिन अगाडि
Image of पश्चिम एसियाबाट नेपाली उद्धारका लागि विशेष उडान सञ्चालन

काठमाडौ । पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा चुनौतीका बीच त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले विशेष उडान सञ्चालन गर्ने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा बसेको उच्चस्तरीय बैठकले ३ अप्रिलदेखि ५ अप्रिलसम्म विशेष उडान गर्ने निर्णय गरेको हो।

सरकारले नेपाल  एयरलाइन्स मार्फत दुबई र दमामका लागि उडान तालिका तय गरेको छ। तालिकाअनुसार ३ अप्रिलमा काठमाडौंबाट दुबईका लागि राति ११:१५ बजे उडान हुनेछ भने ४ अप्रिलमा दुबईबाट काठमाडौं फर्किने उडान बिहान ४:१० बजे हुने छ। त्यस्तै, ५ अप्रिलमा काठमाडौं–दमाम बिहान ८:३० बजे र दमाम–काठमाडौं दिउँसो १२:२० बजे उडान सञ्चालन गरिनेछ।

पश्चिम एसियामा बढ्दो तनावका कारण फेब्रुअरी २८ देखि नियमित अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए। त्यसले गर्दा त्यहाँ रहेका नेपालीहरूलाई आवतजावतमा कठिनाइ भएको थियो।

यसअघि १ अप्रिलमा कुवेत  एयरलाइन्स मार्फत २९१ जना नेपालीलाई स्वदेश ल्याइएको थियो। साथै विभिन्न कारणले मृत्यु भएका ९ जना नेपालीको शव पनि नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।