एमालेभित्र विवाद बढ्दै, संसदीय दलको नेता थापाको अभिव्यक्तिमाथि प्रश्न

User Image Prime TV News एक दिन अगाडि
Image of एमालेभित्र विवाद बढ्दै,  संसदीय दलको नेता थापाको अभिव्यक्तिमाथि प्रश्न

काठमाडौ । नेकपा एमाले भित्र फेरि विवाद बढेको छ। संसदीय दलको नेता चयन र संसदीय दलको नेता रामबहादुर थापाको   अभिव्यक्तिका कारण पार्टीभित्र असन्तुष्टि देखिएको हो।

संसदीय दलको नेता चयनको सन्दर्भ सेलाउन नपाउँदै कार्यवाहक अध्यक्षसमेत रहेका नेता थापाले संसद्‌मा दिएको अभिव्यक्ति पार्टीको नीति र विचारसँग नमिल्दो भनी पार्टी भित्रैबाट आलोचना भएको छ।

नेता थापाले गत फागुन २१ गतेको निर्वाचनमा एमाले पराजय हुनुमा नेपाली सेना, कर्मचारी वर्ग, बारबरा फाउन्डेसन र विदेशी पक्षले भूमिका खेलेको आरोप लगाएका छन्।

यस विषयमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव योगेश भट्टराईलगायतले पार्टीको स्थापित नीति र मान्यता विपरीतको विषय भएको भन्दै यसबारे पार्टीभित्र छलफल हुने प्रतिक्रिया दिएका छन्।

उपाध्यक्ष पौडेलले यस विषयमा शुक्रबार हुने केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने बताएका छन्। सचिवालय बैठकमा यो विषयमा ‘एजेन्डा’कै रूपमा छलफल हुने बताइएको छ।

उपमहासचिव भट्टराईले एमालेको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)ले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने मान्यता बोक्ने पार्टी भएकाले जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानुपर्नेमा जोड दिएका छन्। 

‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल एमाले आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो। नेपाली सेना लगायतका सुरक्षा अङ्गहरू, न्यायालयलगायतका संवैधानिक अङ्गहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन। त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने छ। संसद् वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत् रहने छ,’ नेता भट्टराईले भनेका छन्। 

बुधबार भएको संसदीय दल र पार्टीका पदाधिकारीको संयुक्त बैठकले कार्यवाहक अध्यक्ष थापालाई सर्वसम्मत रूपमा नेता चयन गरेको थियो ।