अस्पतालमै पूर्व प्रधानमन्त्री ओलीसँग बयान सुरु

User Image Prime TV News २ दिन अगाडि
Image of अस्पतालमै पूर्व प्रधानमन्त्री ओलीसँग बयान सुरु

काठमाडौ । जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सँग प्रहरीले बयान लिन सुरु गरेको छ। स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पतालमा भर्ना गरिएका ओलीसँग अनुसन्धान टोलीले अस्पतालमै पुगेर बयान प्रक्रिया अघि बढाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार जाँचबुझ आयोगले औंल्याएका विषयहरूमा आजदेखि औपचारिक रूपमा बयान लिन थालिएको हो। पक्राउपछि स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकहरूले अस्पताल बाहिर लैजान उपयुक्त नभएको राय दिएपछि बयान अस्पतालमै लिने निर्णय गरिएको प्रहरीले जनाएको छ।

यस प्रकरणमा ओलीसँगै पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखक को बयान भने यसअघि नै सम्पन्न भइसकेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरी काफ्लेका अनुसार लेखकको बयान प्रक्रिया पूरा भई अनुसन्धानको अर्को चरणतर्फ अघि बढिएको छ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमनका क्रममा मानवअधिकार उल्लंघन भएको आरोपमा उच्चस्तरीय छानबिन भइरहेका बेला यी राजनीतिक नेताहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।