सरकारले राजस्व चुहावट नियन्त्रण अभियान सुरु गर्ने
Prime TV News २ दिन अगाडि 
काठमाडौ । सरकारले राजस्व चुहावट रोक्न अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावट रोक्न शून्य सहनशीलता (जिरो टोलरेन्स) नीति अपनाउन निर्देशन दिएका छन्। बैठकमा निर्णय अनुसार सीमा क्षेत्रमा निगरानी कडा गर्ने, बजार अनुगमन केन्द्रित गर्ने र बोर्डर भित्र तथा बाहिर हुने राजस्व चुहावटलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने योजना बनाइएको छ।
अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेयका अनुसार, टास्क फोर्स गठन गरेर कार्ययोजना अनुसार काम अघि बढाइनेछ र अर्को बैठकमा नतिजा समिक्षा गरिनेछ। बैठकमा अर्थमन्त्री, गृहमन्त्री, विभागीय प्रमुख र तीनवटै सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए।













