चाडपर्वमा हवाई भाडा नबढाउन सेवा प्रदायकलाई सरकारको आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । दसैं, तिहार लगायतका चाडपर्वमा हवाई यात्रुको चाप बढ्ने अवस्थालाई ध्यानमा राख्दै सरकारले हवाई टिकटको भाडा नबढाउन सेवा प्रदायक कम्पनीहरूलाई आग्रह गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडपर्वको समयमा तोकिएको अधिकतम भाडादरभन्दा कम शुल्कमा टिकट उपलब्ध गराउन वायु सेवा प्रदायक कम्पनीहरूलाई आग्रह गरिएको हो। हवाई भाडाको न्यूनतमदेखि अधिकतमसम्मको दर कानूनी रूपमा निर्धारण गरिएको भन्दै प्राधिकरणहरुले त्यसअन्तर्गत, सेवा प्रदायक कम्पनीहरूले उच्चतम दर नलिएर एक स्तर श्रेणीको टिकट बिक्री गर्न निर्देशन दिएको छ।
बुद्ध एयर लगायतका वायु सेवा कम्पनीहरूले आन्तरिक रूपमा उक्त निर्देशन पालना गरिरहेका छन्। उदाहरणस्वरूप, बुद्ध एयरले धनगढी उडानमा १२ हजार रुपैयाँभन्दा माथिको टिकट नबेच्ने नीति अपनाएको जनाएको छ।
यसैबीच, प्राधिकरणले चाडपर्वमा यात्रुहरूलाई सहज सेवा दिन अतिरिक्त उडानको व्यवस्था गरेको छ। अहिले दैनिक औसतमा १० हजार यात्रु आन्तरिक हवाई सेवा प्रयोग गर्दै आएका छन्। चाडपर्वका समयमा यो संख्या बढेर १८ हजारसम्म पुग्ने अनुमान गरिएको छ। प्राधिकरणले यात्रु चाप अनुसार आवश्यकताअनुसार उडान थप्ने तयारी गरेको जनाएको छ।













