काठमाडौंमा वैशाख १ देखि रात्रिकालीन सार्वजनिक यातायात सुरु
Prime TV News २ दिन अगाडि 
काठमाडौ । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ।
उत्तर–दक्षिण दिशामा लगनखेलदेखि बुढानीलकण्ठसम्मको १६ किलोमिटर रुट तय गरिएको छ। यसमा ललितपुरको लगनखेल, पाटन अस्पताल, नर्भिक, वीर अस्पताल, कान्ति अस्पताल, गंगालाल हृदय केन्द्र जस्ता ठूला स्वास्थ्य केन्द्र समावेश छन्।
पूर्व–पश्चिम दिशामा भने थानकोटदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्मको २० किलोमिटर रुट सञ्चालन हुनेछ। यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस चल्नेछन्। बसहरू साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् र हरेक बस स्टपमा २० मिनेटको अन्तरालमा बस आउने व्यवस्था गरिएको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन्, “बेलुका सार्वजनिक यातायात नहुँदा धेरैलाई असुविधा हुन्थ्यो। किशोरी, महिलाहरू र विद्यार्थीहरू खासगरी प्रभावित थिए। यसलाई सुधार्न रात्रिकालीन बस सेवा सुरु गरेका हौं।”
बसमा सीसीटिभी क्यामरा राखिने र नगर प्रहरीको सुरक्षा व्यवस्था पनि हुनेछ। महानगरपालिकाले सेवा सुरक्षित, सहज र भरपर्दो बनाउने लक्ष्य राखेको छ।













