सुर्खेतकी १६ वर्षीय इनिशा बिकको आज दाहसंस्कार
Prime TV News २ दिन अगाडि 
सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा बिकको आज भेरी नदीको सम्झिघाटमा दाहसंस्कार गरिने भएको छ। उनी फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत फेला परेकी थिइन्।
प्रारम्भमा परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लागेकाले शव नबुझ्ने अडान लिएका थिए। तर, घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि परिवारले शव बुझ्ने निर्णय गरेको हो।
सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालले चारै आरोपितलाई थुनामा राख्न आदेश दिएका थिए। अदालतको आदेशअनुसार उनीहरूलाई बाल सुधार गृह पठाइनेछ । घटनामा दुई हप्तासम्म अनुसन्धानपछि प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
सरकारी वकिल कार्यालयले आइतबार अदालतमा अभियोगपत्र दायर गरेको थियो। सोमबारदेखि सुनुवाइ सुरु भएको मुद्दामा मंगलबारको थुनछेक बहसपछि अदालतले थुनामा राख्ने आदेश दिएको हो। इनिशाको मृत्यु पछि वीरेन्द्रनगरमा प्रदर्शनहरू पनि भएका थिए, जसमा स्थानीय बासिन्दा र विद्यार्थीहरू सहभागी भएका थिए।













