संसदमा आज पहिलो पटक हर्क साम्पाङ र महावीर पुन बोल्दै
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलोपटक संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको अधिवेशन आजदेखि सुरु भएको छ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजे बैठक बस्ने तय गरिएको छ।
अधिवेशनको सुरुआतमा राजनीतिक दलका शीर्ष नेता तथा स्वतन्त्र सांसदहरूले दलीय आधारमा सम्बोधन गर्ने परम्परा अनुसार आजको बैठकमा विभिन्न दलका प्रतिनिधिहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका तर्फबाट सम्बोधन गर्नेछन्। त्यस्तै, नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्नो धारणा राख्ने तयारी गरेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि बैठकलाई सम्बोधन गर्नेछन्। प्रतिनिधिसभामा रहेका एकमात्र स्वतन्त्र सांसद महावीर पुनलाई पाँच मिनेट समय प्रदान गरिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट कसले सम्बोधन गर्ने भन्ने विषयमा भने अझै निर्णय भइसकेको छैन। सभामुखको निर्वाचन नभएसम्म प्रतिनिधिसभाको बैठक सञ्चालन ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्ने व्यवस्था अनुसार आजको बैठक पनि उनैले सञ्चालन गर्नेछन्। सभामुखको निर्वाचन चैत २२ गतेका लागि तय गरिएको छ।
यसैबीच, आजको बैठकमा सरकारका तर्फबाट तीन वटा अध्यादेश पनि पेस गरिने कार्यसूची रहेको छ। यसपटक दलहरूको संख्यात्मक अवस्थालाई ध्यानमा राख्दै बोल्ने समय व्यवस्थापन अघिल्लो अभ्यासभन्दा केही फरक ढंगले गरिएको संसद् सचिवालयले जनाएको छ। नयाँ जनादेशपछि सुरु भएको यस अधिवेशनलाई आगामी राजनीतिक समीकरण, सरकारको कार्यदिशा तथा विधायिकी प्रक्रियाका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।












