दिल्लीको शानदार जित, लखनऊ ६ विकेटले पराजित

User Image Prime TV News २ दिन अगाडि
Image of दिल्लीको शानदार जित, लखनऊ ६ विकेटले पराजित

काठमाडौ । आईपीएल २०२६ मा दिल्ली क्यापिटल्सले आफ्नो पहिलो जित हासिल गरेको छ। बुधबार लखनऊको इकाना स्टेडियममा भएको खेलमा दिल्लीले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले हरायो।

टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले राम्रो प्रदर्शन गर्न सकेन। टोली १८.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनमै समेटियो। मिचेल मार्शले ३५ रन र अब्दुल समदले ३६ रन बनाए पनि अन्य खेलाडीले खास योगदान दिन सकेनन्।

दिल्लीका बलरहरूले राम्रो खेल देखाए। लुंगी एनगिडी र टी नटराजनले ३–३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए। १४२ रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुआत भने निकै कमजोर रह्यो। टोलीले पहिलो बलमै विकेट गुमायो र २६ रनमा ४ विकेट झारिसकेको थियो।

तर त्यसपछि समीर रिजवी र ट्रिस्टन स्टब्सले उत्कृष्ट साझेदारी गरे। उनीहरूले पाँचौँ विकेटका लागि ११९ रन जोड्दै टोलीलाई जिततर्फ डोर्याए। रिजवीले अविजित ७० रन बनाए भने स्टब्स ३९ रनमा अविजित रहे।

दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। यस जितसँगै दिल्लीले अंक तालिकामा राम्रो सुरुआत गरेको छ। प्रतियोगिता अझै सुरुआती चरणमै रहेकाले सबै टोलीसँग अगाडि राम्रो गर्ने अवसर छ।