काठमाडौमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने, द्विपक्षीय सम्बन्ध थप मजबुत हुने अपेक्षा
Prime TV News २ दिन अगाडि 
काठमाडौ । पोर्चुगल सरकारले नेपालसँगको सम्बन्ध विस्तार गर्दै काठमाडौंमा कन्सुलर कार्यालय खोल्ने घोषणा गरेको छ। बुधबार भएको टेलिफोन वार्तामा पाउलो रंगेलले नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त जानकारी दिएका हुन्।
पोर्चुगलको विदेश मन्त्रालयका अनुसार यो कदम नेपाल–पोर्चुगल सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले चालिएको हो। पर्यटन, कृषि र प्रविधि जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने लक्ष्य पनि राखिएको छ।
नेपालले लामो समयदेखि काठमाडौंमा पोर्चुगलको दूतावास खोल्न अनुरोध गर्दै आएको थियो। तर हालका लागि कन्सुलर कार्यालय खोल्ने निर्णय गरिएको हो, जसलाई सम्बन्ध विस्तारतर्फको पहिलो ठोस कदमका रूपमा हेरिएको छ।
पोर्चुगलमा ६० हजारभन्दा बढी नेपाली बसोबास गर्दै आएका छन्। काठमाडौंमा पोर्चुगलको कूटनीतिक कार्यालय नहुँदा कागजात प्रमाणीकरणका लागि उनीहरूले ठूलो समस्या झेल्दै आएका थिए। अब कन्सुलर कार्यालय खुलेपछि यस्तो झन्झट हट्ने अपेक्षा गरिएको छ।
यस्तै, पोर्चुगलमा रहेका करिब दुई हजार नेपाली हाल कानुनी समस्यामा छन्। नक्कली छाप प्रयोग गरेर कागजात प्रमाणीकरण गरिएको भेटिएपछि उनीहरू समस्यामा परेका हुन्।
टेलिफोन वार्ताका क्रममा मन्त्री खनालले समस्यामा परेका नेपालीलाई मानवीय आधारमा सहजीकरण गर्न आग्रह गरेका थिए। त्यसको जवाफमा पाउलो रंगेलले सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ।













