कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गर्ने समूहलाई सचेत गरायो

User Image Prime TV News ३ दिन अगाडि
Image of कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गर्ने समूहलाई सचेत गरायो

काठमाडौ । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गर्ने समूहलाई सचेत गराएको छ।

मंगलबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले चैत १४ गते नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिका संयोजक तारामान गुरुङ का अनुसार यस्तो कार्य पार्टीको नियमविपरीत भएकोले सचेत गराइएको हो।

समितिले अब उप्रान्त यस्ता गतिविधि दोहोरिएमा पार्टीको विधानअनुसार कडा कारबाही गरिने निर्णय गरेको छ। पार्टीभित्र शेरबहादुर देउवा र शेखर कोइराला समूहबीच विवाद बढ्दै गएको बेला सो समूहले काठमाडौंमा भेला आयोजना गरी छुट्टै गतिविधि अघि बढाएको बताइएको छ।

नेपाली कांग्रेसले पार्टीको नाम र कागजात दुरुपयोग नगर्न सबैलाई आग्रह गर्दै अनुशासन पालना गर्न निर्देशन दिएको छ। साथै गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने ५०७ जना नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। अनुशासन उल्लंघन गरेको भन्दै विभिन्न जिल्ला र उम्मेदवारहरूबाट हालसम्म ५०७ जनाविरुद्ध उजुरी परेको छ।