एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङको दावी

User Image Prime TV News ४ दिन अगाडि
Image of एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङको दावी

काठमाडौ । नेकपा एमालेको संसदीय दल नेताको लागि प्रतिस्पर्धा तातो बन्दै गएको छ। आज च्यासलमा बसेको संसदीय दलको बैठकमा सुहाङ नेम्वाङले दल नेताको पदमा आफ्नो दाबी पेश गरेका छन्।

नेम्वाङले पार्टीको विधि र वरीयतालाई सम्मान गर्दै पनि अहिले देशमा उत्पन्न परिस्थितिलाई नजरअन्दाज गर्न नहुने बताए। उनले पार्टीलाई वर्तमान चुनौतीबाट माथि उठाउन युवालाई अघि बढाउनुपर्ने आवश्यकता रहेको पनि जोड दिए।

“मेरो नारा अहिलेको आवश्यकता युवाको ऊर्जा सँगै अग्रजको अनुभव र आशीर्वाद पनि हो,” उनले बैठकमा भने। नेम्वाङ फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्। यसैबीच, संसदीय दल नेताको लागि रामबहादुर थापा 'बादल' पनि आकांक्षी रहेका छन्।

उनी समानुपातिक सांसदको रूपमा प्रतिनिधि सभा सदस्य हुन् र संसदीय दल बैठक उनको संयोजनमा बसेको थियो। प्रतिनिधि सभामा एमालेका २५ जना सांसद रहेका छन् र नेतृत्वको चुनावमा उनीहरूको मत निर्णायक हुने देखिन्छ। संसदीय दलभित्रको यो प्रतिस्पर्धाले आगामी नेतृत्व र पार्टीको दिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने अनुमान छ ।