राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्दै
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको देखेर फेरि निक्षेप संकलन उपकरण प्रयोग गरी पैसा खिच्ने भएको छ। केन्द्रीय बैंकले चैत १८ गते बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँको भागमा बोलकबोल गर्न सक्नेछन्। बाँकी रकम कुल आह्वान रकमसम्म बाँडफाँड हुनेछ। बोलकबोल साधारण ब्याजदरमा वा बहु ब्याजदरमा गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ।
यो ३९ दिने निक्षेप संकलन उपकरणको मुख्य रकम र ब्याज भुक्तानी आउँदो वैशाख २७ मा गरिनेछ। पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल भएको छ। बैंक तथा वित्तीय संस्थाहरू हाल ३ प्रतिशत हाराहारीको ब्याजदरमा केन्द्रीय बैंकलाई पैसा राख्न बाध्य छन्।













