यसवर्षको एसईई परीक्षा भोलिदेखि सुरु हुँदै, परिक्षाका लागि सबै तयारी पूरा
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि देखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। देशभरका सबै परीक्षा केन्द्रमा बिहान ८ बजेबाट एकै समयमा परीक्षा सुरु हुनेछ।
यस वर्ष परीक्षा दिने विद्यार्थी संख्या ५,१२,४२१ रहेको छ। यसमध्ये ४,४१,५६६ जना नियमित विद्यार्थी र ७०,८५५ जना ग्रेड वृद्धिका विद्यार्थी परीक्षा दिनेछन्। परिक्षामा २,५७,६१३ छात्राको संख्या छ भने २,५४,८०१ छात्र र ७ अन्य विद्यार्थी सहभागी हुनेछन्। जापानको एक परीक्षा केन्द्रबाट पनि २३ जना परीक्षा दिनेछन्।
परिक्षा नियन्त्रण कार्यालयका अनुसार चैत १९ गते अनिवार्य अंग्रेजी, २० गेत अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका विषय र चैत २७ – २९ गते प्राविधिक धारका बाँकी विषयको परिक्षा संचालन हुँदैछ ।
यस वर्ष सामूहिक अनुगमन रोकिएको छ। जिल्लामा गठन भएका जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले केवल परीक्षा केन्द्रको बाहिरी क्षेत्रमा अनुगमन गर्नेछन्। पत्रकारले पनि बाहिरी दृश्य मात्र खिच्न पाउनेछन्।
प्रत्येक केन्द्रमा १५ जना प्रहरी, १ केन्द्राध्यक्ष, १ सहायक केन्द्राध्यक्ष, परीक्षार्थी अनुसार निरीक्षक र कार्यालय सहयोगी र अन्य २ कर्मचारीको व्यवस्था गरिएको छ । यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिनेछ। परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गरिने बोर्डको योजना छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले सबै तयारी पूरा भएको र परीक्षा सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन हुने जानकारी दिए।













