अर्थ मन्त्रालयले आजदेखि डिजिटल टिप्पणी प्रणाली लागू
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अर्थ मन्त्रालयले आजदेखि डिजिटल टिप्पणी प्रणाली लागू गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले यस प्रणालीको औपचारिक सुरुआत गर्दै अबदेखि मन्त्रालयको कामकाज कागजबिहीन बनाउने दिशामा ठोस कदम चालिएको जानकारी दिएका छन्।
डिजिटल टिप्पणी प्रणाली लागू भएपछि मन्त्रालयको काम प्रभावकारी, छरितो र पारदर्शी हुने अपेक्षा गरिएको छ। यस प्रणालीले सकारात्मक प्रभाव पार्ने बताइएको छ । यो प्रणाली लागु भएसंगै पटक–पटक कागज प्रिन्ट गर्नु नपर्ने भएकाले कागजी खर्चमा कटौती, टिप्पणी बोकेर सम्बन्धित अधिकारीको कोठा–कोठा धाउनुपर्ने झन्झट हट्ने विश्वास लिइएको छ ।
डिजिटल टिप्पणी प्रणालीले निर्णय प्रक्रियामा पारदर्शिता आउनुका साथै टिप्पणी कहिले उठ्यो, कहिले सदर भयो भन्ने सम्पूर्ण विवरण डिजिटल प्रणालीमा सुरक्षित रहने पनि जनाइएको छ । यसअघि पनि मन्त्रालयमा डिजिटल टिप्पणी र डिजिटल हस्ताक्षरको प्रयोग गर्ने योजना भए तापनि कार्यान्वयनमा ढिलाइ भएको थियो। तर, मन्त्री खनालको सक्रियतामा उक्त प्रणाली तत्काल लागू गरिएको हो।













